रामएकवाल राम
दोहा, कतार : गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको दोस्रो परिषद् (वार्षिक) भेला सम्पन्न भएको छ । संघको विधान बमोजिम २०२१-२०२३ कार्यकालको दोस्रो परिषद् भेला प्रत्यक्ष र भर्चुअल जुम अनलाइनमार्फत सम्पन्न भएको हो ।
नेपाली राजदूतावासको सभा हलबाट प्रत्यक्षरूपमा सञ्चालित भेला संघका अध्यक्ष मोहमद मुक्तदा मुसलमानको सभापतित्व तथा कतारका लागि नेपाली राजदूत नरेश विक्रम ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
भेलामा पछिल्लो एक वर्षका विभिन्न गतिविधिहरू विभिन्न समितिका संयोजकहरूले पेश गरेका थिए । भेलामा बोल्दै प्रमुख अतिथि ढकालले नेपालीहरू कतारमा आफ्नो दुखले मात्र नभई कतारको आवश्यकताले आउन सम्भव भएको बताए । उनले कतारका सबै संघसंस्थालाई आफ्नो वार्षिक क्यालेन्डर एनआरएनएमा बुझाउन र सोही अनुरूप कार्यक्रम नजुधाई क्यालेन्डर बनाउन संघलाई आग्रह गरे ।
उनले नियोगले सबैलाई समान व्यवहार गर्ने बताउँदै कागजमा आफ्नो हस्ताक्षर चलेपनि कतारमा रहेका सबै नेपाली आफैंमा राजदूत रहेको बताए । ढकालले कतारमा वर्ल्डकप नजिकिएको हुँदा नेपाल र नेपालीले कतारलाई सक्दो सहयोग गर्नु पर्ने बताउँदै आ-आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरे ।
कार्यक्रममा ८८ जनालाई खाद्यान्न, ७ जनालाई हवाई टिकट, बोन म्यारो रोगबाट पीडित मेहदी हसनलाई नगद सहयोग र कतारमा मृत्यु भई शव नेपाल पठाउन आर्थिक अभावमा रोकिएको दाङका एक व्यक्तिलाई ५०० रियाल सहयोग गरिएको विवरण संघका द्वितीय उपाध्यक्ष तथा सुरक्षित आप्रवासन तथा श्रमिक कल्याण विभागका संयोजक प्रेम चलाउनेले पेश गरेका थिए ।
भेलामा संघमा कुल ४ लाख ७५ हजार ८ सय १५ रियाल बचत रहेको आयव्यय विवरण कोषाध्यक्ष विनोद बर्सौलाले पेश गरेका थिए भने विभिन्न राष्ट्रिय पर्वहरू एकसाथ मनाइएको, कतार च्यारीटीबाट नेपाली समुदायको लागि प्राप्त स्यानिटाइजर २० हजार ४ सय बोतल, ८१० प्याकेट ईफ्तारी (खाना) वितरण गरिएको विवरण संघ संस्था विभाग संयोजक जैवी चाम्लिङ राईले पेस गरेका थिए ।
एक वर्षको कार्यप्रगति विवरण पेशसहित कार्यक्रमको सहजीकरण महासचिव पदम गिरीले गरेका थिए । भेलामा पेश भएका कार्यपत्र र आर्थिक विवरण परिषद् भेलाले पास गरेको थियो । भेलामा नियोगका द्वितीय सचिव प्रवीण भट्टराई, एनआरएनए आइसिसीका उपाध्यक्षद्घय नरेन्द्र भाट र आरके शर्मा, युवा उपाध्यक्ष राज रेग्मी, सचिव प्रवीण गुरुङ, मध्यपूर्व संयोजक मनोज कुमार श्रेष्ठ (गोर्खाली) सहसंयोजक केबी हमाल, महिला संयोजक सरिता पौडेल भण्डारी लगायत विभिन्न तह र तप्काका पदाधिकारीहरूको विशिष्ट आतिथ्यता रहेको थियो ।
भेलामा आइसिसीका विभिन्न पदाधिकारीहरू, कतारमा स्थापित विभिन्न प्रदेश प्रमुख तथा प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए । जैवी चाम्लिङ राईको शुभकामना मन्तव्य रहेको कार्यक्रमको समापन गर्दै सभापति मुसलमानले भेलामा पेश भएका सबै विवरण पास गर्ने परिषद् सदस्यहरूलाई धन्यवाद ज्ञापन गरेका थिए । उनले एनआरएनए कतारले नेपालका सबै राष्ट्रिय पर्वहरू एनआरएनएकै नेतृत्वमा मनाउने गरेको हुँदा नजिकिँदै गरेको तीजपनि सामुहिकरूपमा मनाइने बताए ।