राजविराज
मानव अधिकार तथा सामाजिक क्षेत्रमा योगदान पुर्याएका हित नारायण लाल दास वैद्य-प्रकाश मानव अधिकार पुरस्कार-२०७९ बाट पुरस्कृत हुनुभएको छ।
राजविराजस्थित नेपाल पत्रकार महासंघको सभाहलमा आज सोमबार वैद्य-प्रकाश मानव अधिकार पुरस्कार कोषले आयोजना गरेको ३० औं प्रकाश स्मृति दिवसको अवसर दासलाई पुरस्कारबाट सम्मानित गरेको मनोहर पोखरेलले बताउनु भएको हो।
महिला, बालबालिका, जेष्ठ नागरिकको हकअधिकार र जागरणका लागि योगदान पुर्याए बापत दासलाई पुरस्कारस्वरुप ५ हजार १ सय रुपियाँ, सम्मान-पत्र तथा दोसल्ला प्रदान गरेको थियो ।दासलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुरले कदरपत्र, मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चार राज्य मन्त्री रुबी कर्णले दोसल्ला र कोषका अध्यक्ष वैद्यनाथ झाले नगद पुरस्कार प्रदान गर्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष अरुण मण्डल, मधेस प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरी भट्टराई, राष्ट्रिय मानव अधिकार आयोगका मधेस प्रदेश प्रमुख बीरबहादुर मगर, इन्सेक मधेस प्रदेशका सँयोजक राजु पासवान, एकल महिला समूहकी मधेस प्रदेश अध्यक्ष अनिता देवकोटा, नागरिक समाजका अध्यक्ष थानसिँह भन्साली, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देव, पूर्व राष्ट्रिय कर्मचारी परिषद्का सँस्थापक अध्यक्ष रामनरेश सिँह, प्राचार्य बिजयानन्द झालगायतले मन्तव्य व्यक्त गर्नुभयो ।सँस्थापक अध्यक्ष बैधनाथ झाको अध्यक्षतामा कार्यक्रमको सञ्चालन सदस्य मनोहर पोखरेलले गर्नु भएको थियो।
थाइ एयरबसको विमान ०४९ साउन १६ गते नुवाकोटको घोप्टेभीरमा दुर्घटना परी निधन हुनु भएका इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको स्मृतिमा प्रत्येक वर्ष सप्तरीमा रहेर मानव अधिकार तथा नागरिक आन्दोलनमा सक्रिय व्यक्तिलाई पुरस्कृत गरिदै आएको कोषले जनाएको छ ।
हित नारायण लाल दासको पृष्ठभुमि:पाँच दशक अघि शिक्षण पेशाबाट सार्वजनिक जीवन सुरु गर्नुभएका ७३ वर्षीय दास राजविराज नगरपालिका ५ निवासी हुन।दास हाल महिला, बालबालिका तथा जेष्ठ नागरिकको चेतना अभिवृद्धिका लागि कटिबद्ध हुनुहुन्छ । बाल मन्दिर राजविराजमा २३ वर्षसम्म अध्यापन गर्नुभएका उहाँले विभिन्न गैरसरकारी संस्थामा कुशल व्यवस्थापक, संयोजक, प्रशिक्षक भई पछाडि पारिएका वर्गहरुका माझ चेतना जगाउने अभियानमा देखाउनु भएको क्रियाशीलता उत्साहजनक छ । सामुदायिक सेवा केन्द्रमा २०६३ सालदेखि आबद्ध रही २०७३ सालदेखि केन्द्रको कुशल नेतृत्व गर्दै दासले बालबालिकाको चेतना, मानव अधिकारका साथै लैङ्गिक हिंसा र लागु पदार्थविरुद्धको जागरण अभियानमा प्रशंसनीय योगदान गर्नुभएको छ ।
मानिसले पछाडि होइन, अगाडि हेर्नुपर्ने तथा रचनात्मक कार्यहरुमा जीवनलाई सही ढंगले प्रयोग गर्नुपर्ने आदर्श बोक्नु भएका मानविकीमा स्नातक उत्तिर्ण उहाँले विशेष गरी बालबालिका, किशोर, महिला र पछाडि पारिएका समुदायमा अनुशासन र जागरण ल्याउन गर्नुभएको हरसम्भव प्रयास तथा सामाजिक र शैक्षिक सुधारका लागि निरन्तर उठाउनु भएको आवाज स्मरणीय छ ।समाजमा विद्यमान कुरीतिको अन्त्य, विभेदपूर्ण व्यवहार, संस्कार जरैदेखि उन्मूलन गर्ने अदम्य साहसका साथ महिला, बालबालिका, जेष्ठ नागरिक र पछाडि पारिएका समुदायलाई सङ्गठित गर्दै आउनु भएका उहाँले ती समुदायमा जागरण ल्याउन गर्नुभएको हरसम्भव प्रयास उत्साहजनक छ ।सदैव गतिशिल, जागरुक, उत्सुक, उत्साहित दासले युवा उमेरले होइन गुणले हुन्छ भनेर पुष्टि गर्दै धेरै जनाको प्रेरणा पुञ्ज बन्नु भएको छ ।