सुनसरी
सप्तकोसीले पश्चिमको अस्थायी तटबन्ध भत्काएर कटान गर्दासमेत भारतले कोसी ब्यारेजका सबै ढोका खोल्न अटेर गरेको छ । सुनसरी प्रशासनको आग्रहलाई समेत बेवास्था गर्दै भारतले कोसी ब्यारेजका ढोका खोल्न नमानेको जनता टाइम्सले जनाएको छ।
सप्तकोसीमा सोमबारदेखि पानीको बहाव बढिरहेको छ। सप्तकोसीमा बुधबार पानीको बहाव बुधबार साँझ साढे ६ बजे प्रतिसेकेन्ड २ लाख ४३ हजार १८० क्युसेक छ । पानी अझै बढ्ने क्रममा छ । कोसी परियोजनाका भारतीय अधिकारीहरूले सप्तकोसी नदीको नेपाली भू–भागमा गर्नुपर्ने काममा बेवास्ता गर्दा सर्वसाधारणको उठिबास भएको छ । वर्षायाम सुरु हुनेबित्तिकै सुनसरीको बराहक्षेत्र नगरपालिका–३ को चिलीया टापु र ९ को गरैया टापुमा कटान हुन थालेको थियो। तत्काल रोकथाम नगरिए ५ सय परिवारको उठिबास हुने भन्दै नियन्त्रणका लागि नगरपालिकाले पत्राचार गरेको थियो।
नेपालस्थित कोसी परियोजनाको कामको सम्पूर्ण लेखाजोखा राख्ने सम्पर्क तथा भू–आर्जन कार्यालयमा असार ६ गते नै नगरपालिकाले पत्राचार गरेको हो। कार्यालयले नगरपालिकाले पठाएको पत्रको आधारमा परियोजनाअन्तर्गतको बाढी नियन्त्रण एवं जलनिस्सरण जल संसाधन विभाग वीरपुरलाई असार २३ गते पत्राचारसमेत गरेको थियो। स्थानीयको मागअनुसार भू–आर्जन कार्यालयले एक महिनाअघि नै सुनसरीका कार्यालय प्रमुखहरूले निर्णय गरेको पत्र पनि भारतीय अधिकारीलाई पठाएको थियो।
बहुचर्चित नेपाल–भारत कोसी सम्झौता–१९५४ को मर्म र भावनाविपरीत कोसी परियोजनाका भारतीय अधिकारीले नेपाली भू–भागमा काम गर्ने गर्दा बेलाबखत सास्ती खेप्नु परेको गुनासो स्थानीयको छ । सम्झौताअनुसार सप्तकोसी नदीको नेपाली भू–भागमा हुने कामको विवरण राख्न विराटनगरमा सम्पर्क भू–आर्जन कार्यालय स्थापना गरे तापनि अन्य विषयमा परियोजनाअन्तर्गतको बाढी नियन्त्रण एवं जलनिस्सरण जल संसाधन विभाग वीरपुरले बेवास्ता गर्ने गरेको छ । उक्त कार्यालयले काम गरे पनि नेपाली अधिकारीहरूसँग सल्लाह र जानकारी लिने गरिएको छैन। आवश्यकताअनुसार मर्मत र सम्भारको काम नगर्दा कटानको सामना गर्नु परेको छ ।