नविन निर्भय यादव
सप्तरी । भनिरहनु परेन, सामान्य दुखाइ कम गर्न तथा ज्वरो घटाउन सिटामोल आधारभूत औषधि हो । झाडापखाला लागेमा भरपर्दो र सबैको जिब्रोमा झुण्डिएको औषधिको नाम जीवनजल हो ।
नेपाल सरकारको औषधि व्यवस्था विभागले यसलाई अत्यावश्यक औषधिमा सूचीकृत गर्दै आएको छ । सरकारले स्वास्थ्य संस्थाहरूमा निःशुल्क वितरण गर्नुपर्ने औषधिहरूको सूचीको अग्रस्थानमा यसकै नाम छ । सर्वसाधारणदेखि हुनेखानसम्मकाले प्रयोग गर्ने यो औषधि स्वास्थ्य केन्द्रहरूमा सबैभन्दा धेरै खोजी हुने औषधि हो ।
तर सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाको वडाहरूमा सञ्चालित स्वास्थ्य केन्द्रहरूमा सिटामोल र जीवनजलको हाहाकार छ । गाउँपालिकामा अन्तर्गत वडा नम्बर १ देखि वडा नम्बर ८ सम्मका सबै स्वास्थ्य केन्द्रहरूमा करिब २ महिना देखि सिटामोल, जीवनजलको मौज्दात रित्तिएकोले सर्वसाधारण मर्कामा परेका छन् ।
सरकारी अस्पताल र स्वास्थ्य चौकीबाट निःशुल्क वितरण हुने जीवनजल र सिटामोल व्यवस्थापन गर्न गाउँपालिका अग्रसर नदेखिएको स्थानिय धर्मदेब मण्डल बताउँछन । गाँउपालिकाका अध्यक्ष अरूण कुमार मण्डलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रसँगै गाँउपालिकाको खाता सञ्चालनमा नरहेकोले समस्या भएको बताउनु हुन्छ । अति आवश्यक औषधि मगाउनेतर्फ ध्यान केन्द्रित भएको उहाँले बताउनु भयो ।
वडा अध्यक्षहरूका अनुसार वडा तहमा सञ्चालित स्वास्थ्य केन्द्रहरूमा करिब ३ महिनादेखि सिटामोल र जीवनजलको अभावले आमजनता आक्रोशित छन् । निजी ५ हजार रुपियाँको सिटामोल औषधि किनेर तोपा स्वास्थ्य केन्द्रमा बुझाएको जानकारी दिनुहुँदै वडा नम्बर ८ का वडा अध्यक्ष सत्यनारायण यादवले भन्नु भयो– ‘बारम्बार गाउँपालिका कार्यालयमा समस्या समाधानका लागि आवाज उठाए पनि कुनै सुनवाई भएन ।’
वडा नम्बर २ का वडा अध्यक्ष कमल मण्डलले औषधिको अभावको समस्या प्रमुख समस्या रहेको बताउनु भयो । सामान्य औषधिको अभावमा सर्वसाधारणले उपचार नपाउनु जनप्रतिनिधिका लागि ठूलो चुनौति बनेको उहाँको भनाई छ । गाउँपालिकाको बैठकमै यसबारे चर्चा चले पनि समाधानतर्फ अध्यक्षको चासो नरहेको मण्डलको आरोप छ । गाउँपालिकाको विभिन्न वैठकमा लाखौ रूपियाँ खर्च भइरहे पनि १०÷२० हजारको अत्यावश्यक औषधि किन्न गाउँपालिकाले बहाना बनाउनु दुःखद भएको स्थानीय सुभाष मण्डलले बताउनु भयो ।