पब्लिक प्रेस संवाददाता
सप्तरीका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले सम्भावित पर्यटन क्षेत्रको पहिचान गरेर अघि बढनु पर्ने बताएका छ्न।
४३औं विश्व पर्यटन दिवसको अवसरमा राजविराजमा बुधबार आयोजित गोष्ठिमा प्रजिअ थापाले अर्थतन्त्रको मेरुदण्ड रहेको पर्यटनको लाभ तल्लो तहसम्म पुग्ने भएकाले सम्भावित पर्यटन क्षेत्रको पहिचान गरेर अघि बढनु पर्ने बताएका हुन।
पर्यटनको विकासका लागि सुरक्षित, सुविधायुक्त वसोवास, पर्यटकिय क्षेत्रको जानकारीमूलक प्रचारप्रसार आवश्यक रहेको र तीनै तहको सरकारले ध्यान पु¥याउन जरुरी रहेको बताए।
‘नेपालमा सबैथोक भएर पनि सदुपयोग गर्न नसक्दा गरिबी एकातिर र स्रोत, साधन अर्कोतिर भएको छ। पर्यटनले देशमा विदेशी मुद्राको आर्जन, रोजगारीको श्रृजना, सार्वजनिक र ब्यक्तिगत आयको श्रोत, सांस्कृतीक आदानप्रदान अनि राष्ट्रको छवी बढाउन सहयोग गर्ने छ।’उनले भने।
इन्सेक प्रतिनिधी मनोहर पोखरेलले पर्यटन उद्योगमा देखिएका चुनौतीहरूको सम्बोधन गर्नका लागि सरकार, निजी क्षेत्र तथा गैरसरकारी क्षेत्रसमेतको संयुक्त लगानी, तत्परता र सोचमा परिवर्तनको आवश्यकता रहेको बताएका छ्न। सप्तरीमा रहेको नदीनाला, बन्यजन्तु, रहनसहन, संस्कृतिको प्रचारका साथै धार्मिक, ऐतिहासिक सम्पदाहरूको संवद्र्धन, संरक्षण र प्रवद्र्धन गरी पर्यटक आगमन, बसाइ र खर्चमा वृद्धि गराई रोजगारीका अवसर सुजना गर्ने सम्भावनाबारे चर्चा गरेका हुन।
होटल तथा पर्यटन व्यवासायी संघ सप्तरीका अध्यक्ष शैलेश चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा मधेस प्रदेश उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अरुण प्रधान, ईटा व्यावसायी संघका अध्यक्ष दुर्गानन्दप्रसाद साह, होटल व्यवसायी कृतनारायण शर्मा, पत्रकार चन्दन यादव लगायतले पर्यटकहरुलाई लक्षित गरि विशेष प्याकेजका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताएका छ्न ।
त्यसअघि होटल तथा पर्यटन व्यवसायी संघ सप्तरीले हुनमाननगर कंकालिनी नगरपालिका भारदस्थित कंकालिनी मन्दिरमा आएका दर्शनार्थी पर्यटकहरुलाई स्वागत गरेको थियो । पर्यटकहरुलाई फूलमाला लगाएर र मिठाई बाँडेर स्वागत गरिएको संघले जनाएको छ ।
संघले काठमाडौंबाट आज राजविराज ओर्लेका यात्रीहरुलाई समेत स्वागत सत्कार गरेर पर्यटन दिवस मनाएको छ ।