पब्लिक प्रेस संवाददाता
राजविराज ,नेकपा एमालेको भात् संगठन राष्ट्रिय युवा संघ नेपाल मधेस प्रदेश कमिटीको आयोजनामा प्रदेश स्तरीय आमसभालाई सम्बोधन गर्न भोलि शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली सप्तरी आउने सभाको तयारी पूरा भएको छ।आज पत्रकार सम्मेलनमा संघका जिल्ला इन्चार्ज मनिष श्रेष्ठले उक्त कुरा बताएका हुन।
सप्तरी निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने कन्चनरुप नगरपालिका १२ सिमरास्थित धर्मेश्वर चौकमा दिउँसो १ बजे हुने आमसभालाई एमाले अध्यक्ष ओलीले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्ने उनले बताए।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित गरी एमालेले मधेस प्रदेशको जिल्लाहरुमा चुनावीसभाहरु आयोजना गरिरहेको छ।राष्ट्रिय युवा संघको आयोजनामा हुन लागेको यस कार्यक्रममा ओलीको सम्बोधन सँगै युवाहरुको प्रदेश स्तरीय निर्वाचन परिचालन कमिटी घोषणा समेत हुने पार्टीका सप्तरी जिल्ला इन्चार्ज दिवाकर देवकोटाले बताएका छ्न।
जिल्लाबाटै करिब ५० हजार पार्टी सदस्य,शुभेच्छुक,न्याय प्रेमी जनताको सहभागिताबीच अध्यक्ष ओलीले सम्बोधन गर्नु हुने केन्द्रिय सदस्य राजकुमार लेखीले बताएका छ्न।’अध्यक्ष कमरेडलाई स्वागतका निमित्त भव्य तयारी गरेका छौं।एक हजार कलश यात्रासहित पार्टीका जनसंगठनको रुपमा रहेका जनसांस्कृतिक महासंघको नेतृत्वमा करिब १५ वटा सांस्कृतिक टोलीहरुले जनवादी नृत्यहरु प्रस्तुत गरिने छ।त्यसैगरी सो सभामा मधेस प्रदेशका लोकप्रिय प्रदेश इन्चार्ज रघुविर महासेठ,स्थायी कमिटी सदस्य प्रभु साह लगायत जिल्लाका नेता हरुले सम्बोधन गर्नुहुने छ।’उनले जानकारी दिए ।
सभा स्थलमा रहेको चौरमा तयार पारिएको मञ्चको नजिकै हेलिप्याडमा पार्टी अध्यक्ष ओली अवतरण हुने जिल्ला सचिव देवनाथ यादवले जानकारी दिएका छ्न।हेलिकप्टरबाट ओर्लिएर प्रमुख अतिथिको रुपमा सहभागी हुने अध्यक्षको सुरक्षा व्यवस्थाका निम्ति सुरक्षा निकायहरु सँगै युवा संघका स्वयंसेवकहरु उपस्थित रहने यादवले बताए।