जसपा सप्तरी इन्चार्जको राजिनाम
पब्लिक प्रेस संवाददाता
राजविराज ।जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले सप्तरी २ मा व्यहोर्नुपरेको हारका कारण उक्त पार्टीका मधेस प्रदेश सदस्य तथा सप्तरी इन्चार्ज कौशलेन्द्र यादवले नैतिकताको आधारमा पदबाट राजिनामा दिएका छ्न।
सप्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत महादेवा गाउँपालिका वडा नम्बर ३ बथनाहा स्थायी घर भएका यादव पार्टीको मधेस प्रदेश कार्यालय जनकपुरमा बिहीबार राजिनामा पत्र बुझाएका हुन।
मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले लज्जास्पद हार व्यहोर्नु परेको हुनाले नैतिकताको आधारमा पार्टीले दिएको जिम्मेवारी मधेस प्रदेश सदस्य र सप्तरी जिल्ला इन्चार्जको पदबाट राजिनामा दिएको पत्रमा उल्लेख गरिएको छ।
बिगत लामो समयदेखी राजनीतिकमा सक्रिय यादव मधेसी जनाधिकार फोरमले उद्घोष गरेको पहिलो मधेस जनबिद्रोहदेखि नै उक्त पार्टीमा लागेका थिए।तत्कालीन फोरम विभिन्न समयमा नामले परिवर्तित हुँदै जनता समाजवादी पार्टीमा परिणत भएको छ।नेकपा(एमाले)को संगठित सदस्य भएर राजनीतिक शुरु गरेका यादव २०५७ साल तिर माओवादीले थालनी गरेको जनयुद्धमा होमिएका थिए ।