कारागारमा सय थान कम्ब
नानीमैया कटवाल
सप्तरी, – शितलहर र चिसो बढेपछि जैन श्वेताम्बर तेरापंथी सभाले राजविराज कारागारका कैदी बन्दीका लागि आज एक सय थान कम्बल वितरण गरेको छ ।
चिसोका बेला कारगारभित्र रहेका जेष्ठ नागरिक, दिर्घरोगी, विपन्न र आवश्यक्ता महसुस भएका कैदीबन्दीका लागि कम्बल वितरण गरिएको सभाका पूर्व अध्यक्ष थानसिंह भन्सालीले बताउनु भयो ।
सभाका अध्यक्ष सागर दुगडको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालगायत सुरक्षा निकायका प्रमुख, नागरिक समाज, अधिकारकर्मीले कम्बल हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा बरख गणका प्रमुख सेनानी दुर्गाबहादुर थापा, प्रहरी उपरिक्षक अविनारायण काफ्ले, राष्ट्रिय अनुसन्धान कार्यालयका उपनिर्देशक टिकाराम पोखरेल, इन्सेक प्रतिनिधि मनोहर पोखरेल, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, लायन्स क्लबका डिस्ट्रिक गर्भनर शंकर शारदाले कारागार प्रमुख किशोरकुमार राम, चौकिदारहरु कामेश्वर यादव र सलमान भनिने रफिद राइनलाई कम्बल हस्तान्तरण गर्नुभयो ।
जिल्ला कारागारको बन्दी क्षमता १५ महिलासहित १५५ जनाको भएपनि कारागारमा कैदी र थुनुवा गरी ३ सय ७५ जना छन् । तीन वर्षीय १ नाबालक आश्रित छन् । यस्तै कारागारमा ६५ वर्ष नाघेका ज्येष्ठ नागरिक नौ जना पुरुष रहेको जिल्ला कारागार प्रशासनले जनाएको छ ।
कारागारमा एक जना जटिल र एक जना सामान्य मानसिक रोगी, दुई जना एचआइभी संक्रमित र दुई जना पक्षघातबाट पीडित पनि छन् । रक्तचाप, चिनी, दम र मुटुलगायतका दीर्घरोगीहरु ३० बढी छन् । तीन गुणा बढी कैदीबन्दी हुँदा बरण्डा र भान्सामा समेत सुत्नु परेको कैदीबन्दीहरुले बताए । रासस