पब्लिक प्रेस
सम्वदाता
नेपाल प्रहरीद्वारा भारतबाट भन्सार छली ल्याउँदै गरेको १० हजार किलो चामलसहित एक ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ९ हनुमाननगर बजारबाट २४ लाख मुल्य बराबरको भन्सार छली ल्याएको चामलसहित ट्रक र चालकलाई नियन्त्रणमा लिएको हो ।
भारतबाट भन्सार छली चोरी पैठारी गरी मे. १ ख ३३९७ नं. को ट्रकमा चामल लोड गरी नेपालतर्फ आउँदै गरेको छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरी टोली खटी अबैध रुपमा ल्याउँदै गरेको सामान बरामद् गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट प्र.ना.उ. नरेश कुमार सिंह र ई.प्र.का. हनुमाननगर बाट प्र.ना.नि. समेतको संयुक्त प्रहरी टोलीले ट्रकमा लोड गरि ल्याएको सामान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उक्त नम्बरको ट्रक र ट्रकमा लोड भएको चामलका बोराहरु स्थानीयहरुको रोहबरमा कानुन बमोजिम बरामद् गरी ट्रक चालक जिल्ला सुनसरी गढीगापा वडा नं. २ बस्ने अं. वर्ष ३२ को देव कुमार चौधरी समेतलाई नियन्त्रणमा लिई लोड भएको चामल सहित आवश्यक कारवाहीको लागी राजविराज भंसार कार्यालय तिलाठी पठाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैगरी सप्तरी बिष्णुपुर गापा वडा नं.७ स्थितमा भारतबाट भंसार छली ल्याएका हेड सेट (एयर फोन) १ सय ४० थान बरामद् गरेको प्रहरीले जनाएको छ । उक्त एयर फोनको २८ हजार रुपैया मुल्यांकन गरि आवश्यक कारवाहीको लागि भंसार कार्यालय तिलाठी पठाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रबक्ता प्र.ना.उ.नरेश कुमार सिंहले जानकारी दिए ।