पब्लिक प्रेस संवाददाता
राजविराज ।छिन्नमस्ता गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य ४७ वर्षीय योगेन्द्रप्रसाद शर्मा, उहाँका बुबा ७५ वर्षीय बिन्देश्वर शर्मा र भतिजा ३० वर्षीय संजयकुमार शर्मालाई ०७९ माघ ११ गते सोही ठाउँका ५० वर्षीय जयनाथ शर्मा, उहाँका छोरा २९ वर्षीय मनोज शर्मा, ५० वर्षीय शिवशंकर पण्डित र ४५ वर्षीय अनिल मिश्र भनिने सुन्दरकान्त मिश्रले कुटपिट गरेको भन्दै योगेन्द्रले माघ १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छ्न।
छिन्नमस्ता गाउँपालिका–५ लोखरमस्थित स्वास्थ्य चौकीका प्रमुख राजाबाबु मेहताको लिखित आग्रहमा वडा अध्यक्ष जयप्रकाश ठाकुर र वडा सदस्य योगेन्द्र सार्वजनिक स्वास्थ्य चौकी र प्रसुती गृह अनुगमन निरीक्षणमा गएका बेला आक्रमण भएको घाइते योगेन्द्रले बताए ।
स्वास्थ्य चौकी र प्रसुती गृहभित्र बाख्रा नचराउन, धान र कपडाहरू नसुकाउन तथा फोहोर नगर्न भनेपछि आरोपितहरूले गालीगलौज गर्दै कुटपिट गरेको वडा अध्यक्ष ठाकुरले बताए।
घाइते तीनै जनाको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरूको घाउँजाँच माघ १३ गते गरिने सप्तरी प्रहरीले जनाएको छ ।
छिन्नमस्ता गाउँपालिका–५ नम्बर वडा कार्यालयले समेत वैठक बसी जयनाथ, मनोज र मिश्रविरुद्ध माघ १२ गते उजुरी दिएको छ ।इन्सेक सप्तरी