पब्लिक प्रेस संवाददाता
राजविराज ।प्रहरीमाथि गोली प्रहार गर्ने दुई जना अभियुक्तहरुलाई १२ वर्ष कैद सजाय भएको छ।
बिहीबार जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले उनीहरुलाई ज्यान मार्ने उद्योग कसुरमा आठ वर्ष र संगठित अपराधअन्तर्गतको कसुरमा चार वर्ष गरि १२ वर्ष कैद सजाय गरेको अदालतका सूचना अधिकारी भरत पोखरेलले बताएका छ्न।
प्रहरी चौकी विसनपुरमा कार्यरत सुनसरी जिल्लाको कोशी गाउँपालिका वडा नम्बर ६ श्रीपुर जब्दीका ३६ वर्षीय प्रहरी हवल्दार महेन्द्र सतरा यादवमाथि गोली प्रहार गरी ज्यान मार्ने उद्योग गरेको कसुरमा खडक नगरपालिका वडा नम्बर ९ लालपट्टीका ४१ वर्षीय पशुपती चौधरी र सोही नगरपालिका ३ नम्बर वडाका ३७ वर्षीय सागरबाहु भनिने अशोक साहलाई उक्त सजाय भएको हो।
खडक नगरपालिका वडा नम्बर ८ बिसनपुर चोकमा ०७५ माघ २ गते राति गस्तीमा रहेका बेला प्रहरी यादवमाथि उनीहरुले गोली प्रहार गरेको थियो । काठमाडौं महाराजगञ्जस्थित त्रि.वि. शिक्षण अस्पतालमा हवल्दारको शल्यक्रिया गरी गोली निकालेर उपचार भयो तर उनको कम्मर भन्दा मुनि नचलेर अपाङ्गताको जीवन जिउन बाध्य भएको छ।घटनास्थलमा सशस्त्र समूह सिजन नेतृत्वको प्रगतीशिल तराई मुक्ति मोर्चाको पर्चा र गोलीको खोका भेटिएको थियो ।
०७५ माघ ७ गते पीडितका दाजु ४४ वर्षीय इन्द्रदेव सतराले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । जिल्ला प्रहरी कार्यालयले चौधरीलाई सोही दिन हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ स्थित कोशी व्यारेजबाट गिरफ्तार गरेको थियो । जिल्ला अदालतमा ०७५ चैत १० गते अभियोग पत्र दायर भएकोमा अदालतको आदेशमा आरोपित चौधरी चैत १२ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।
यस्तै, जिल्ला अदालतमा ०७८ असार २९ गते हाजिर भएका सागरबाहु भनिने अशोक साहलाई अदालतले सोही दिन ५ लाख रुपियाँ धरौटीमा राखी पुर्पक्ष गर्न आदेश दिएको थियो । आरोपितले धरौटी रकम बुझाउन नसके पछि कारागारमा थुनामा छन् ।
अन्य आरोपितहरू सिरहा धनगढीमाई नगरपालिका–५ का २६ वर्षीय सिजन भनिने रामकुमार यादव र भारत बिहार राज्य मधुबनी जिल्ला अनुमण्डल फुलप्रासका ३३ वर्षीय साकिर मियाँविरुद्धको मुद्दा मुल्तबीमा राख्ने फैसला भएको छ ।
घटनामा आरोपित भनिएका सुरुङ्गा नगरपालिका–६ कडरबोनाका ३० वर्षीय दिपेश जायसवाल भनिने दिपेन्द्र चौधरीलाई प्रहरीले ०७५ माघ ९ गते विहान रूपनी गाउँपालिका–१ स्थित राजविराज आउने सडक खण्डमा गोली प्रहार गरी हत्या गरेको थियो । प्रहरीले नियन्त्रणमा लिएर मुठभेंडको नाटक मञ्चन गरी दिपेन्द्रको हत्या गरेको भन्दै परिवारका सदस्य, गाउँलेहरू र राजपा नेपाल आबद्ध राष्ट्रिय विद्यार्थी संघले ०७५ माघ १० गते राजविराजमा प्रदर्शन गरेको थियो । प्रहरीले भने मृतकको साथबाट प्रगतिशील तराई मुक्ती मोर्चाको पर्चा, कटुवा पेस्तोल र गोली फेला परेको भन्दै आत्मरक्षाका लागि प्रहरी कारबाहीमा मारिएको बताएको थियो ।