पब्लिक प्रेस संवाददाता
राजविराज। मधेस प्रदेश सरकारका कानून न्याय तथा प्रदेश मामिला मन्त्री राजकुमार लेखीले षडयन्त्र र चलाखीले गरिने राजनीति स्थायी नहुने बताउनु भएको छ ।
राजविराजमा शनिबार आयोजित अखिल नेपाल महिला संघको जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रदेश मन्त्री लेखीले चलाखीले नभई समाजलाई मार्गदर्शन गर्ने र बदल्ने हिसाबको राजनीतिक गर्नुपर्ने बताउनुभयो ।

नेकपा (एमाले)का केन्द्रीय सदस्य समेत रहनु भएका लेखीले अन्य दलहरू र ती दलका नेताले गरेको सहमति र प्रतिबद्धताप्रति आमजनतामा विश्वास नरहेको बताउनु भयो । मुलुकलाई बिर्सेर आफ्नो मात्र लाभ हेर्ने उनीहरूको देखासिखी एमालेले नगर्ने उहाँले बताउनु भयो । लेखीले एमाले सहमति तोड्ने, प्रतिबद्धता बिर्सिने, दलबदल गर्ने, केही प्राप्तिका लागि मरिहत्ते गर्ने र बाँडीचुँडी खाने पार्टी नभएको बताउनु भयो ।

नेकपा (एमाले) पाटिब्युरो सदस्य तथा मिसन ग्रासरुट अभियानका सप्तरी इन्चार्ज रामदयाल मण्डलले व्यक्तिगत चाहना पूरा गर्नेतर्फ नभई निष्ठाले देश र जनताका पक्षमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो । दक्षिणपन्थी बिसर्जनवाद र संगठनात्मक अराजकताको अन्त्य गर्न ग्रासरुट अभियानलाई वडा र टोलसम्म पु¥याई पार्टी संगठन विस्तार गरिने उहाँले बताउनु भयो ।
संविधान सभाबाट बनेको संविधानले व्यवस्था गरेका उपलब्धीहरूको पक्षमा एमाले प्रतिवद्ध रहेको भन्नु हुँदै संविधान सभा सदस्य एवम् एमाले सप्तरीका अध्यक्ष ताराकान्त चौधरीले जनप्रतिनिधि, नेता र कार्यकर्ताहरूबीच समन्वय र समझदारी बढाएर समस्याहरू समाधान गर्दै लगिने बताउनु भयो ।
पार्टीका पुराना किसान नेता राजाराम यादवले शिक्षित र सक्षम युवा पुस्तालाई पार्टीमा जोड्नुपर्ने र नेतृत्वमा स्थापित गर्नुपर्ने तथा पार्टी नेता कार्यकर्तालाई बैचारिक खुराक दिइरहनु पर्नेतर्फ पार्टी नेतृत्वको ध्यानाकर्षण गराउनु भयो ।
कार्यक्रममा एमाले जिल्ला उपाध्यक्ष अब्दुल मजिद साकिर, सचिव देवनाथ यादव, जनसंगठन समन्वय संयन्त्र प्रमुख दुर्गानन्द ठाकुर, अनेमसंघकी केन्द्रीय सदस्य पार्वती राउतले ग्रासरुट अभियानले पार्टीलाई सुदृढ र पहिलो पार्टी बनाउन योगदान पुर्याउने भएकाले सबैको सक्रिय सहभागितामा जोड दिनुभयो ।
एमालेको दुई महिने ग्रासरुट अभियानमा पोलिटब्यूरो र केन्द्रीय कमिटीका सदस्यहरूसहित जिल्ला नेताहरू १८ वटै पालिकामा खटिने छन् । ग्रासरुट अभियान अन्तर्गत जिल्ला कमिटीसहित सबै पालिकामा वैठक, भेला र प्रशिक्षण सञ्चालन हुने र संगठन विस्तार र सुदृढ गरिने एमाले जिल्ला उपसचिव अखिलेश झाले जानकारी दिनुभयो ।
अनेमसंघ सप्तरीका अध्यक्ष मिन्टु चौधरीको अध्यक्षता र शर्मिला खडकाद्वारा सञ्चालित कार्यक्रमको प्रमुख आतिथ्यता अनेमसंघकी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज असरा चौधरीले गर्नुभएको थियो ।
सप्तरीका १८ ओटा पालिकाबाट १०÷१० जनाका दरले आएका प्रतिनिधिले अनेमसंघको आगामी कार्यकालका लागि शनिबार नै नेतृत्व निर्वाचित गर्ने अनेमसंघकी केन्द्रीय सदस्य कुसुम आचार्यले बताउनु भयो ।