सप्तरी, जेठ : सप्तरीमा बहुविवाहको आरोप लागेका फरार आरोपित पक्राउ परे लगत्तै आज कारागारमा थुनामा परेका छन् । पक्राउ परेका आरोपित सुनसरी इटहरी उपमहानगरपालिका–७ का ३९ वर्षीय रञ्जितकुमार झा पक्राउ परेलगत्तै पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पुगेको सप्तरी जिल्ला अदालतले जनाएको छ । जिल्ला न्यायाधीश डाक्टर राजेन्द्रकुमार आचार्यको इजलाशले झा पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा परेको पीडित पक्षका अधिवक्ता डोमन साहले जानकारी दिनुभयो । झाकी श्रीमती ३६ वर्षीया बन्दनाकुमारी झाले श्रीमान रञ्जितविरुद्ध बहुविवाहको उजुरी दिनुभएको थियो । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीकी २८ वर्षीया दुर्गा झासँग २०७९ माघ ५ गते रञ्जितले विवाह गरेको थाहा पाएको भन्दै बन्दनाले उजुरी दिनुभएको थियो । बन्दनाले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा गत फागुन १८ गते उजुरी दिनुभएको प्रहरीले जनाएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहस्थित कंकालिनी मन्दिरमा आरोपितहरुले बहुविवाह गरेको भन्दै पीडितले दिएको उजुरी इलाका प्रहरी कार्यालय कञ्चनरुपले फागुन २० गते दर्ता गरेको थियो । जातिय परम्पराअनुसार ०६७ फागुन ६ गते विवाहिता पीडितकी नौ र ६ वर्षीया दुई छोरी छिन् । थप दाइजो ल्याउन दवाव दिई कुटपिट गर्दै यातना दिएपछि पीडित रौतहटको गौर नगरपालिका–१ बसतपुरस्थित माइत बस्दै आउनु भएको छ । जिल्ला अदालतबाट फागुन २१ गते आरोपितहरु विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । अर्का आरोपित दुर्गा पक्राउ परेकी छैन् । आरोपित रञ्जितले भने श्रीमतीले झुठा उजुरी दिएको र आरोपित भनिएकी दुर्गा अर्कै मानिसको श्रीमती रहेको बताएका छन् ।